स्वच्छ छवि र बलियो संगठन — दोलखामा गुरुङप्रति मतदाताको साथ बढ्दै
घाम खबर संवाददाता
२८ माघ २०८२, बुधवार
189
Sharesदोलखा — स्वच्छ छवि र बलियो संगठनात्मक पकडलाई मुख्य आधार बनाउँदै नेकपा एमालेका नेता पार्वत गुरुङ दोलखामा पुनः चुनावी मैदानमा उत्रिएका छन्। जिल्लाको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएका गुरुङलाई समर्थकहरूले जनप्रिय र स्पष्ट छविका नेताको रूपमा चित्रित गर्दै आएका छन्।
२०६७ सालमा एमाले दोलखाको जिल्ला अध्यक्ष बनेपछि गुरुङको राजनीतिक यात्रा तीव्र गतिमा उकालो लागेको मानिन्छ। संगठन निर्माण, कार्यकर्ता परिचालन र केन्द्रसँग समन्वयमा प्रभावशाली भूमिका खेलेका उनी २०७० र २०७४ मा लगातार दुई पटक सांसद निर्वाचित भए। संघीय सरकारमा मन्त्रीको जिम्मेवारी सम्हालेपछि राष्ट्रिय राजनीतिमा समेत उनको प्रभाव विस्तार भएको विश्लेषण गरिन्छ।
अघिल्लो निर्वाचनमा दोलखाको एकमात्र संघीय सिटमा गुरुङले कांग्रेस उम्मेदवारलाई करिब ३० हजार मतान्तरले पराजित गरेका थिए। सो परिणामले जिल्लाको राजनीतिक समीकरण नै बदलिएको टिप्पणी गरिएको थियो। यसपटक पनि सोही लय दोहोर्याउने रणनीतिसहित उनी गाउँ–गाउँमा सक्रिय देखिन्छन्।
व्यावसायिक पृष्ठभूमिबाट आएका गुरुङ हालसम्म कुनै पनि अनियमिततामा नपरेको दाबी गरिन्छ। दोलखामा स्वच्छ छवि कायम राख्दै उनले विकास र आर्थिक रूपान्तरणलाई प्रमुख एजेन्डा बनाएका छन्। लामाबगर–फलाक नाका सञ्चालन गरी दोलखालाई त्रिदेशीय व्यापारिक केन्द्रका रूपमा विकास गर्ने महत्वाकांक्षी योजना उनले अघि सारेका छन्।
डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनदेखि इन्टरनेटलाई अत्यावश्यक सेवा घोषणा गराउनेसम्मका कामको श्रेय लिँदै गुरुङले आफू सञ्चार मन्त्री रहँदा ‘नागरिक एप’ लागू गरी सरकारी सेवालाई प्रविधिमैत्री बनाएको दाबी गरेका छन्। डिजिटल विकासलाई दोलखाको समृद्धिसँग जोड्ने उनको रणनीति रहेको बताइन्छ।
बलियो संगठन, अघिल्लो भारी मतान्तरको इतिहास, स्वच्छ छवि र डिजिटल विकासको एजेन्डा — यी सबै आधारमा गुरुङ दोलखामा फेरि ‘मत आँधी’ ल्याउने तयारीमा देखिएका छन्। जिल्लाको चुनावी माहोल भने दिनप्रतिदिन थप रोचक बन्दै गएको छ।

घाम खबर संवाददाता