गौरीशंकरमा एमालेको बलियो पकड, चुनावअघि नै परिणाम संकेत
घाम खबर संवाददाता
२ फागुन २०८२, शनिवार
468
Sharesदोलखा। गौरीशंकर गाउँपालिकामा नेकपा एमालेले आफ्नो संगठनात्मक पकड थप सुदृढ बनाएको दाबी गरेको छ।
शनिबार सम्पन्न अगुवा कार्यकर्ता भेलामा देखिएको व्यापक सहभागिता, नेतृत्वबीचको एकता र कार्यकर्ताहरूको सक्रियताले फागुन २१ गते हुने निर्वाचनअघि नै परिणामको संकेत दिएको नेताहरूले बताएका छन्।
संगठन कमिटीको आयोजनामा भएको उक्त भेलामा जिल्लादेखि केन्द्रीय तहसम्मका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले पार्टीलाई अझ मजबुत बनाउँदै घरदैलो अभियानलाई तीव्र बनाउने रणनीति अघि सारे।
भेलामा पूर्व जिल्ला विकास समिति सभापति लालकुमार केसीको प्रमुख आतिथ्य रहेको थियो। साथै प्रतिनिधि सभा सदस्य उम्मेदवार पार्वत गुरुङ र समानुपातिक उम्मेदवार टेक घतानी केन्द्रीय सदस्यहरू रचना खड्का, श्याम बस्नेत, उर्मिला सुनुवार, लेखा आयोग सदस्य शान्ती पाखरिन, डिल्ली बराइली, पूर्व सामाजिक मन्त्री सरस्वती बस्नेत, प्रदेश कमिटी सदस्य उर्मिला थामी, लक्ष्मण गुभाजु, युवा संघ केन्द्रीय सदस्य महाराज गुरुङ, विद्यार्थी नेता दिलिप खड्का, जिल्ला कमिटी सदस्य फुरुलाक्पा शेर्पा, शक्ति पाठक, रमेश श्रेष्ठलगायत जिल्ला सचिवको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रम पार्टी अध्यक्ष मिंगुर शेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा वक्ताहरूले आसन्न निर्वाचनका सन्दर्भमा आफ्ना विचार, धारणा तथा रणनीतिहरू प्रस्तुत गर्दै विशेषगरी प्रतिनिधि सभा सदस्य उम्मेदवार पार्वत गुरुङ र समानुपातिक उम्मेदवार टेक घतानीलाई विजयी गराउन सम्पूर्ण नेता–कार्यकर्ताहरू एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए।
वक्ताहरूले गौरीशंकरमा पार्टीको जनाधार अझै मजबुत रहेको दाबी गर्दै विपक्षी दलहरू स्पष्ट एजेन्डा र प्रभावकारी रणनीतिविना अघि बढिरहेको टिप्पणी गरे।
भेलामा उपस्थित कार्यकर्ताहरूको उत्साह, नाराबाजी र सक्रिय सहभागिताले चुनावी माहोल थप तातेको देखिन्थ्यो। स्थानीय तहमा सम्पन्न विकास निर्माणका कामहरूलाई उपलब्धिका रूपमा प्रस्तुत गर्दै नेताहरूले जनताको विश्वास पार्टीमै रहेको दाबी गरेका छन्।
यद्यपि, राजनीतिक विश्लेषकहरूका अनुसार अन्तिम निर्णय भने मतदाताको मतदानबाटै निर्धारण हुनेछ। तर हाल देखिएको संगठनात्मक सक्रियता र शक्ति प्रदर्शनले गौरीशंकरमा पार्टीको पकड बलियो रहेको सन्देश दिएको चर्चा सुरु भएको छ।
आगामी निर्वाचन नजिकिँदै जाँदा गौरीशंकरको चुनावी समीकरण झनै रोचक बन्दै गएको छ। पार्टीले आफ्नो प्रभाव क्षेत्र सुरक्षित राख्न अभियान तीव्र बनाएको संकेत देखिएको छ भने विपक्षी दलहरू पनि रणनीति पुनरावलोकनमा जुटेको बताइन्छ।

घाम खबर संवाददाता